बारा –फागुन २३ । जिल्ला प्रहरी कार्यालय बाराले एक महिनामा साढे तीन करोड रुपैयाँभन्दा बढीको अबैध सामान बरामद गरेको छ। एसपी सन्तोष तामाङको नेतृत्वमा बाराका विभिन्न प्रहरी युनिटहरूले माघ १८ देखि फागुन २० सम्मको अवधिमा ३ करोड ५८ लाख ४० हजार ६ सय ५९ रुपैयाँको सामान जप्त गरेका हुन्।
प्रहरीले यस अवधिमा ३ सय २० किलो गाँजा, २९ किलो अफिम र १७० ग्राम ब्राउन सुगर समेत बरामद गरेको छ। यसैक्रममा, २२ नेपाली र ४ भारतीय पुरुष, साथै २ नेपाली महिला गरी २६ जनालाई पक्राउ गरेको छ।
प्रहरीले ९ बिघा १ कट्ठा ५ धुर क्षेत्रमा लगाइएको १ लाख ८१ हजार गाँजा बिरुवा नष्ट गरेको छ भने २० हजार अफिम बिरुवासमेत नष्ट गरिएको जानकारी आएको छ।
साथै, ३ लाख २५ हजार २६ रुपैयाँका हुण्डी रकमसहित एक जना भारतीय कारोबारी पक्राउ गरिएको छ।
प्रहरीद्वारा विभिन्न मुद्दामा कडा कारबाही
प्रहरीले कर्तव्य ज्यान, सवारी ज्यान, लागुऔषध, साइबर अपराध र अभद्र व्यवहारका ४३ वटा मुद्दा दायर गर्दै ८४ फरार अपराधीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १३ लाख ८६ हजार रुपैयाँ जरिवाना र १२ वर्ष, ७ महिना, १४ दिन कैद भुक्तानी गरिएको छ।
महिला र बालबालिका सुरक्षा सम्बन्धी पनि विभिन्न कामहरू गरिएको छ। १३ महिला र १८ बालबालिका हराएको घटनामा ७ जनालाई फेला पारिएको छ।
सामुदायिक कार्यक्रम र जनचेतना अभियान
जिल्ला प्रहरी कार्यालय बाराले १४ विद्यालयमा जनचेतना र अनुशिक्षण कार्यक्रम सञ्चालन गरी १,२१० विद्यार्थीलाई लाभान्वित बनाएको छ। महिला हिंसा, सवारी दुर्घटना न्यूनीकरण र साइबर अपराधका बारेमा ५ वटा जनचेतना कार्यक्रम पनि सम्पन्न भएको छ।
विभिन्न कारबाही र राजस्व संकलन
माघ र फागुन महिनामा ३,९२८ सवारी कारवाही गरि ३० लाख ४ हजार ५०० रुपैयाँको राजस्व संकलन गरिएको छ। मदिरा उत्पादन गर्ने १२ वटा भट्टीमा छापा मारी ३,२५५ लिटर तयार मदिरा र ८,३०० लिटर कच्चा मदिरा नष्ट गरिएको छ।
बरामद गरिएको कुखुरा र काठ
प्रहरीले १,२१५ किलो ब्रोइलर कुखुरा र ९० हजार रुपैयाँको अबैध सालको काठ पनि बरामद गरेको छ। १ लाख ५० हजारको कुखुराको चल्ला नष्ट गरिएको छ।
बारा प्रहरी कार्यालयको यस अभियानले अबैध कारोबार र अपराधको नियन्त्रणमा महत्वपूर्ण कदम उचालेको छ।
