जनकपुरधाम –फागुन २१ ।मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई विश्वविद्यालय सभाले बर्खास्त गर्ने निर्णय गरेको छ। मंगलबार भएको विश्वविद्यालय सभाले अनधिकृत गतिविधिमा संलग्न भएको ठहर गर्दै उनीहरूलाई पदमुक्त गर्ने निर्णय लिएको हो।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्यीय समितिले बुझाएको प्रतिवेदनका आधारमा कारबाही गरिएको बताइएको छ। जनकपुरमा राति अबेरसम्म चलेको विश्वविद्यालय सभामा मुख्यमन्त्री एवं कुलपति सतिशकुमार सिंह, सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलगायत पदाधिकारीहरू उपस्थित थिए।
विश्वविद्यालयमा लामो समयदेखि आर्थिक कारोबार ठप्प हुँदा पदाधिकारी र कर्मचारीले तलबभत्ता नपाएका छन्। विद्युत्, पानी, सञ्चारलगायत सेवा प्रभावित छन् भने कृषि विज्ञानका विद्यार्थीहरूको नियमित पढाइ समेत अवरुद्ध भएको छ। नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन नहुँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ।
एक अर्ब ७० लाख लागतमा निर्माणाधीन विश्वविद्यालय भवन अलपत्र अवस्थामा छ भने भाडामा सञ्चालन भइरहेका क्याम्पसहरू पनि भाडा नबुझाएको भन्दै खाली गराउने चेतावनी घरबेटीहरूले दिएका छन्। जसपा नेपाल र जनमतबीचको राजनीतिक विवादमा विश्वविद्यालय फस्दा शैक्षिक तथा प्रशासनिक गतिविधि प्रभावित बनेका छन्।



