बारा -फागुन -२१ – श्रीकान्त गुप्ता – नेपाली कांग्रेसका दुई प्रभावशाली नेताबीच सम्धी सम्बन्ध जोडिने भएको छ। धनुषाका कांग्रेस सह-महामन्त्री महेन्द्र यादवका छोरा विकास यादव र रौतहटका कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवको छोरी सुस्मिता यादवको विवाह हुन लागेको हो।
राजनीतिमा मात्र नभई पारिवारिक सम्बन्धमा पनि नजिकिन लागेका यी दुई नेता कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्। दुबै नेताहरू कांग्रेसको देउवा समूहका प्रभावशाली नेता हुन्।
बिहेमा नेपाली कांग्रेसका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ। विशेष गरी सभापति देउवा स्वयं वर-वधूलाई आशीर्वाद दिन विवाह समारोहमा सहभागी हुने तय भइसकेको छ।
चिकित्सा पेशामा रहेका विकास र सुस्मिता दुबै चिकित्सक हुन्। उनीहरूको विवाहले राजनीतिक वृत्तमा चर्चा मात्र होइन, दुई मधेसी कांग्रेस नेताबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
राजनीतिमा सहकार्य गर्दै आएका यी दुई नेताहरू अब पारिवारिक रूपमा पनि एकअर्कासँग गहिरो सम्बन्धमा बाँधिने भएका छन्। कांग्रेसको आन्तरिक राजनीतिमा समेत यस विवाहले सकारात्मक प्रभाव पार्न सक्ने आँकलन गरिएको छ।



