पर्सा फागुन १५ । वीरगञ्ज महानगरपालिका–२१, परवानीपुरस्थित सुशील वनस्पति (राजहंश) उद्योगले सिर्सिया नदीमा निरन्तर रूपमा रसायनयुक्त फोहोर पानी मिसाइरहेको पाइएको छ। स्थानीयबासीहरूले उद्योगको लापरबाहीविरुद्ध कडा कारबाहीको माग गरेका छन्।
छठ पर्वको अवसरमा समेत नदी प्रदूषित बनाएर स्थानीयको आस्थामा ठेस पुर्याएको आरोप लागेकाे उद्योगले हालसम्म पनि फोहोर फाल्न नछोडेको स्थानीय युवाहरुले बताउँछन्। उनले सामाजिक सञ्जालमार्फत उद्योगको प्रदूषणजन्य गतिविधि उजागर गर्दै नगरपालिकासहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
वीरगञ्ज-२१ का वडाध्यक्ष राधाकृष्ण रौनियारका अनुसार उद्योगले पटक–पटकको आग्रह बेवास्ता गर्दै आएको छ। “हामीले धेरैपटक चेतावनी दिएका छौँ, तर उद्योगले प्रदूषित पानी फाल्न छोडेको छैन। अब कडा कानुनी कारबाही आवश्यक छ,” उनले भने।
स्थानीय बासिन्दाका अनुसार सिर्सिया नदीको पानी अत्यधिक प्रदूषित भइसकेको छ, जसले धार्मिक आस्था मात्र होइन, स्वास्थ्यमा पनि गम्भीर असर पुर्याइरहेको छ। उनीहरूले सरकार, महानगरपालिका र सरोकारवाला निकायलाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्।
यस विषयमा उद्योग सञ्चालक रतन केडियासँग बुझ्ने प्रयास गर्दा उनले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। यसअघि पनि उनले नगरपालिकाको निर्देशनलाई बेवास्ता गर्दै आएको स्थानीयको आरोप छ।



