बारा फागुन ०८ । शिक्षा सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बारागढी गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले गाउँपालिकाका विभिन्न विद्यालयहरूको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा उहाँले विद्यार्थीहरूको सिकाइ स्तर मूल्याङ्कन गर्न विद्यालयमा संचालन गरिएको टेस्ट परीक्षाको निरीक्षण समेत गर्नुभयो ।
गाउँपालिकाभित्रका विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न निरन्तर क्रियाशील अध्यक्ष जयसवालले अनुगमनको क्रममा शिक्षक,तथा बिद्यार्थीहरूसँग प्रत्यक्ष छलफल गर्नुभयो । उहाँले विद्यालयहरूको भौतिक पूर्वाधार, शिक्षण शैली, विद्यार्थीहरूको उपस्थिति तथा सिकाइ उपलब्धि सम्बन्धी जानकारी लिनुका साथै आवश्यक सुधारका लागि सुझावसमेत दिनुभएको थियो ।
टेस्ट परीक्षाको निरीक्षण गर्दै अध्यक्ष जयसवालले विद्यार्थीहरूलाई मनोबल उच्च बनाउन प्रेरित गर्दै परिश्रम र निरन्तर अभ्यास नै सफलताको मुख्य स्रोत भएको बताउनुभयो । साथै, शिक्षकहरूलाई पाठ्यक्रमअनुसार प्रभावकारी पठनपाठन गराउन निर्देशन दिँदै शिक्षाको गुणस्तर सुधार्न पालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाले शैक्षिक सुधारको लागि विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूलाई सिकाइमा थप आकर्षित गर्न निःशुल्क शैक्षिक सामग्री वितरण, शिक्षक क्षमता अभिवृद्धि तालिम तथा आधुनिक शिक्षण प्रविधिहरूको प्रयोगलाई प्रोत्साहित गरिने बताउनुभयो ।
अनुगमनपछि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँगको अन्तर्क्रियामा अध्यक्ष जयसवालले विद्यालय सुधारका लागि सबै पक्षको समान प्रयास आवश्यक रहेको औंल्याउनुभयो । उहाँले अभिभावकहरूको पनि सक्रिय सहभागिता शिक्षा सुधारका लागि महत्त्वपूर्ण हुने बताउँदै विद्यार्थीहरूको शैक्षिक प्रगति सुनिश्चित गर्न निरन्तर अनुगमन गरिने जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले अध्यक्ष जयसवालको प्रत्यक्ष चासो र सहकार्यलाई स्वागत गर्दै आगामी दिनहरूमा शिक्षाको गुणस्तर वृद्धिका लागि संयुक्त प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । अनुगमनको क्रममा गाउँपालिकाका शिक्षा शाखाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरू पनि उपस्थित थिए ।



