जनकपुर फागुन २ मधेस प्रदेश सरकारले अनुमानित लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको भन्दै संघीय अर्थ मन्त्रालयले प्रदेश सरकारको बजेट रोक्का गर्ने तयारी गरेको छ।
बिहीबार अर्थ मन्त्रालयले मधेस प्रदेशका मन्त्रालयहरूलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक स्रोतबाट माघ मसान्तसम्म मात्र २८.५३ प्रतिशत राजस्व संकलन भएको जानकारी दिएको छ। साथै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबाट मात्र १३.२४ प्रतिशत प्राप्त हुने देखिएको मन्त्रालयले उल्लेख गरेको छ।
समग्रमा कुल अनुमानित आयको ३०.३५ प्रतिशत मात्र प्राप्त भएकाले प्रदेश संचित कोषमा न्यून मौज्दात रहेको र भुक्तानीमा समस्या आउन सक्ने भन्दै अर्थ मन्त्रालयले खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ।
त्यस्तै, सम्झौता नभएका परियोजनाहरू तथा ५० लाख रुपैयाँ वा सोभन्दा कम विनियोजन भएका आयोजना तथा कार्यक्रमहरूको विवरण दुई दिनभित्र पठाउन निर्देशन दिइएको छ। यदि तोकिएको समयसीमाभित्र विवरण प्राप्त नभएमा, आर्थिक सुधार नभएसम्म ती आयोजना तथा कार्यक्रम रोक्का गर्न सकिने चेतावनी पत्रमा उल्लेख छ।
यसअघि, महालेखा नियन्त्रक कार्यालयले पनि २८ माघमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पत्र पठाउँदै, राजस्व संकलन लक्ष्यअनुसार नभएकाले मधेस प्रदेश र स्थानीय तहलाई तेस्रो किस्ताको १३.२४ प्रतिशत मात्र हस्तान्तरण गर्न निर्देशन दिएको थियो।
अर्थ मन्त्रालयले मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ वटा मन्त्रालयलाई पत्र पठाएको छ।



