बारा माघ २८ । मधेस प्रदेशमा बालविवाहको प्रचलन रोक्नका लागि विभिन्न अभियान चलाइए पनि समस्या अझै उस्तै देखिएको छ। बालविवाहका कारण हजारौँ बालबालिकाको भविष्य संकटमा पर्दै गएको छ। शिक्षा, स्वास्थ्य र समग्र सामाजिक विकासमा नकारात्मक प्रभाव परिरहेको विज्ञहरू बताउँछन्।
मधेसका ग्रामिण भेगमा छोराछोरीको सानै उमेरमा विवाह गरिदिने चलन जरा गाडेर बसेको छ। गरिबी, अशिक्षा, सामाजिक दबाब तथा परम्परागत मान्यताका कारण बालविवाह व्यापक रूपमा भइरहेका छन्। किशोरीहरूको हक र अधिकार कुण्ठित हुनुका साथै उनीहरू घरेलु हिंसा, स्वास्थ्य समस्या र आर्थिक निर्भरता जस्ता कठिनाइ भोग्न बाध्य छन्।
बारा पर्सा रौतहट सर्लाही, सिरहा महोत्तरी, धनुषा लगायतका जिल्लामा बालविवाहको समस्या गम्भीर बन्दै गएको छ। अध्ययनअनुसार, मधेसमा २० वर्ष मुनिका ५० प्रतिशतभन्दा बढी किशोरीहरूको विवाह हुने गरेको देखिन्छ। १८ वर्ष नपुग्दै आमा बन्नेहरूको संख्या पनि उच्च रहेको छ।
स्थानीय निकाय तथा अधिकारकर्मीहरू बालविवाह नियन्त्रणका लागि विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्। तर, समाजमा गहिरो रूपमा रहेको परम्परागत सोच परिवर्तन गर्न अझै कठिन देखिन्छ। सरकारले कानुनी कारबाहीको व्यवस्था गरे पनि कार्यान्वयन प्रभावकारी नभएको अधिकारकर्मीहरूको भनाइ छ।
बालविवाह न्यूनीकरणका लागि समुदाय स्तरबाटै पहल गर्न आवश्यक रहेको सामाजिक अभियन्ताहरू बताउँछन्। “बालबालिकाको भविष्य सुरक्षाका लागि शिक्षा, रोजगार र महिला सशक्तीकरणका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउनुपर्छ,” बाल अधिकारकर्मी सीमा यादव भन्छिन्।
मधेसमा बालविवाहको अन्त्य गर्न सरोकारवाला निकाय, स्थानीय तह, अधिकारकर्मी तथा स्वयं अभिभावकहरू मिलेर कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ। बालविवाह नियन्त्रण नगरेसम्म मधेसको सामाजिक र आर्थिक विकासमा बाधा पुग्ने विज्ञहरूको चेतावनी छ।



