बारा माघ ७ । माघ ३ बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा भएको तोडफोड र अराजकता प्रकट गर्दै राष्ट्रिय समता पार्टी नेपालले दोषीहरूमाथि तत्काल कानुनी कार्वाहीको माग गरेको छ। पार्टीका प्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएका छन्।
पार्टीका अनुसार, ३ माघको राति अराजक समूहले मन्दिर परिसरमा प्रवेश गरी भाकल स्वरूप छाडिएका परेवाहरू चोर्ने प्रयास गर्दा नगर प्रहरीसँग झडप भएको थियो। यस झडपमा हातपातको घटना घटेको र अर्को दिन ती समूहहरूले मन्दिर परिसरभित्र दानपेटिका र पंखाहरू तोडफोड गरेको सीसीटीभी फुटेजमा देखिएको छ।
पार्टीका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादको नेतृत्वमा एक टोलीले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरूको पहिचान गरी कडा कार्वाही गर्न माग गरेको छ। उनीहरूले धार्मिक र सांस्कृतिक सम्पदाको सुरक्षा गर्न सरकारलाई अनुरोध गरेका छन्, र यस घटनालाई कानुनी राज्यको उपहासको रूपमा लिएका छन्।



