सर्लाही असोज २९ । सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिरनजिक मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। नवलपुर–मलंगवा सडकखण्डमा मंगलबार राति भएको दुर्घटनामा स्थानीय मन्जु देवी झाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति करिब ९ बजे सलेमपुरबाट चमेलीमाई मन्दिरतर्फ आउँदै गरेको प्रदेश ३–०२९ प २३१५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा मन्जुसहित पुष्पा देवी झा, रुपेश झा र मोटरसाइकल चालक राजु मण्डल घाइते भएका थिए।
दुर्घटनामा टाउको, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेकी मन्जुलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति करिब ११ बजे वीरगन्ज पठाइएको थियो। उनलाई बुधबार बिहान १ बजेर १७ मिनेटमा नेशनल मेडिकल कलेजका चिकित्सकले ईसीजी परीक्षणपछि मृत घोषणा गरेका थिए।
मृतकको शव नारायणी अस्पताल वीरगन्जमा पोस्टमार्टम गरिएपछि बुधबार दिउँसो २ बजेर १५ मिनेटमा उनका श्रीमान् नबोध झाले बुझेर लगेका छन्।
घटनामा गम्भीर घाइते भएकी पुष्पा देवी झाको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ। टाउको र आँखामा चोट लागेका मोटरसाइकल चालक मण्डललाई मलंगवास्थित प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि जनकपुर पठाइएको थियो। जनकपुरस्थित प्रादेशिक अस्पताल पुगेपछि उनलाई जानकी हेल्थ केयरमा रिफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।
त्यस्तै, घाइते रुपेश झाको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। सामान्य उपचारपछि उनी बुधबार बिहान करिब ३ बजे डिस्चार्ज भएका छन्।
प्रहरीका अनुसार मोटरसाइकल चालक मण्डलले मादक पदार्थ सेवन गरेको पाइएको छ। उनीसँग सवारीसाधनसम्बन्धी आवश्यक कागजातसमेत नभएको खुलेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकीको नियन्त्रणमा राखिएको छ।
घटनाको वास्तविक कारण तथा अन्य कानुनी पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।




हावाहुरीले पाँच बिघाको उखुबाली ढल्यो, किसानको लगानी जोखिममा
चोलेन्द्र जबरालाई भेट्न रोकिएको घटनामा प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको माग
दु:ख घडीमा करिब साढे ३ करोडको गाडी खरिदका लागि मधेश सरकारको तयारी
सर्लाहीको सदरमुकाम मलंगवा जलमग्न, अविरल वर्षाले जनजीवन प्रभावित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणी