काठमाडौं ।कार्तिक १ चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । सरकारी शिक्षण संस्थामा अध्ययन गर्ने अवसर विस्तार गर्ने उद्देश्यले सरकारले एमबीबीएस, बीएससी नर्सिङ र बीएमएस विषयमा नयाँ सिट थप गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार थप गरिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् । यससँगै चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सरकारी शिक्षण संस्थामा भर्नाको अवसर बढ्ने भएको छ ।
सरकारले थप गरेका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराएको छ । निजी मेडिकल कलेज तथा अन्य निजी शिक्षण संस्थाको सिट सङ्ख्यामा भने कुनै परिवर्तन गरिएको छैन । सरकारी संस्थामा तुलनात्मक रूपमा कम शुल्कमा चिकित्सा शिक्षा हासिल गर्ने अवसर बढाउने लक्ष्यसहित सिट थप गरिएको मन्त्री पोखरेलले बताएका छन् ।
चिकित्सा शिक्षामा नयाँ सिट थपिएसँगै विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा निजी शिक्षण संस्थाको महँगो शुल्क तिरेर अध्ययन गर्न नसक्ने विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । सरकारी शिक्षण संस्थामा भर्नाका लागि प्रतिस्पर्धा हुने भए पनि सिट सङ्ख्या बढ्दा योग्य विद्यार्थीले अध्ययनको अवसर पाउने सम्भावना विस्तार हुनेछ ।
यसैबीच, कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पढाइ सुरु हुने भएको छ । यसले सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा अध्ययनको अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३० सिट थपिएका छन् । यी संस्थामा सिट विस्तार भएपछि चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि थप अवसर सिर्जना हुने भएको छ ।
चिकित्सा शिक्षामा सरकारी सिट विस्तारलाई स्वास्थ्य जनशक्ति उत्पादन र शिक्षामा पहुँच बढाउने प्रयासका रूपमा हेरिएको छ । यद्यपि, थपिएका सिटअनुसार आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, प्रयोगशाला तथा गुणस्तरीय शिक्षण व्यवस्था सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ ।




हावाहुरीले पाँच बिघाको उखुबाली ढल्यो, किसानको लगानी जोखिममा
चोलेन्द्र जबरालाई भेट्न रोकिएको घटनामा प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको माग
दु:ख घडीमा करिब साढे ३ करोडको गाडी खरिदका लागि मधेश सरकारको तयारी
सर्लाहीको सदरमुकाम मलंगवा जलमग्न, अविरल वर्षाले जनजीवन प्रभावित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणी