1समाचार अभियनविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारसमाचार अभियन · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, चालकको मृत्यु, दुई घाइते

सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, चालकको मृत्यु, दुई घाइते
सर्लाही कार्तिक १ ।रानी ।सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुर पुलनजिक हुलाकी सडकमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने युवक महोत्तरीको गौशाला नगरपालिका निवासी हुन्।
प्रहरीका अनुसार असोज ३० गते दिउँसो करिब १२ बजे महोत्तरीबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०६ बीएक्स ०४३५ को कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनापछि कारमा सवार तीनै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका गौशाला नगरपालिका–५ जिरोमाइल निवासी नागेन्द्र साहका अन्दाजी २४ वर्षीय छोरा विकल साहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनलाई तत्काल उद्धार गरी महोत्तरीस्थित जानकी एकेडेमी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएको करिब आधा घण्टापछि दिउँसो १२:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यस्तै, सोही कारमा सवार गौशाला नगरपालिका–४ का करिब २२ वर्षीय शम्भुनाथ कुमार साह र अन्दाजी २३ वर्षीय शुभम कुमार शर्मा घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

मृतक विकल साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

हुलाकी सडक खण्डमा भएको यस दुर्घटनाले सवारीसाधन चलाउँदा गति नियन्त्रण, सडकको अवस्था र सुरक्षित यात्रामा ध्यान दिनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार