1समाचार अभियनविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारसमाचार अभियन · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

निःशुल्क दालको विज्ञापनमा उपभोक्ता झुक्याएको भन्दै महावीर एग्रोलाई २ लाख जरिवाना

निःशुल्क दालको विज्ञापनमा उपभोक्ता झुक्याएको भन्दै महावीर एग्रोलाई २ लाख जरिवाना

वीरगञ्ज । राजहंस ब्रान्डको चामलको बोरामा निःशुल्क दाल दिने विज्ञापन गरेर उपभोक्तालाई भ्रममा पारेको पुष्टि भएपछि वीरगञ्जस्थित महावीर एग्रोलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बजारमा पठाइसकेको चामल फिर्ता ल्याएर सही तौल र विवरण उल्लेख गरी पुनः प्याकिङ गरेपछि मात्र बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ।

प्रशासनका अनुसार महावीर एग्रोले आफ्नो राजहंस ब्रान्डको २५ केजी चामलको बोरामा ५०० ग्राम दाल निःशुल्क उपलब्ध गराउने प्रचार गरेको थियो। तर, चामल र दाल दुवैको तौल जोड्दा पनि कुल तौल २५ केजी मात्र रहेको अनुगमनका क्रममा फेला परेको थियो। विज्ञापनमा अतिरिक्त दाल दिने भनिए पनि त्यसअनुसार तौल नबढाइएको पाइएपछि उपभोक्ता झुक्याउने कार्य भएको प्रशासनको निष्कर्ष छ।

उपभोक्तालाई ठगी गरिएको सूचनाका आधारमा गत असोज १२ गते सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापाको नेतृत्वमा खटिएको अनुगमन टोलीले उद्योगको गोदाममा छापा मारेको थियो। त्यसक्रममा प्याकेजिङ र विज्ञापनमा कैफियत देखिएपछि प्रशासनले तत्काल ५० हजार रुपैयाँ जरिवाना गरेको थियो।

त्यसपछि गरिएको थप अनुसन्धानबाट समेत अनियमितता पुष्टि भएपछि उद्योगमाथि थप कारबाही गरिएको हो। प्रारम्भिक कारबाहीमा लगाइएको रकमसहित कुल जरिवाना दुई लाख रुपैयाँ पुगेको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी थापाका अनुसार बजारमा पठाइएका सबै चामल फिर्ता ल्याउन र वास्तविक तौल तथा विवरण खुल्ने गरी पुनः प्याकिङ गर्न निर्देशन दिइएको छ। आवश्यक सुधार नगरेसम्म ती वस्तु बिक्री–वितरण गर्न नपाइने प्रशासनको भनाइ छ।

उपभोक्तालाई आकर्षित गर्न दिइने विज्ञापन र प्याकेटमा उल्लेख गरिएका विवरणबीच समानता हुनुपर्नेमा प्रशासनले जोड दिएको छ। वस्तुको तौल, गुणस्तर र मूल्यसम्बन्धी विवरण स्पष्ट राख्नु उत्पादक तथा व्यवसायीको दायित्व भएको उल्लेख गर्दै प्रशासनले उपभोक्ता अधिकारमाथि असर पर्ने गतिविधिमा निगरानी बढाइने जनाएको छ।

यस घटनाले बजारमा बिक्री हुने खाद्यवस्तुको प्याकेजिङ, तौल र प्रचार सामग्रीको प्रभावकारी अनुगमन आवश्यक रहेको देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार