1समाचार अभियनविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारसमाचार अभियन · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन, शीर्ष नेताहरूको सहभागितामा उद्घाटन

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन, शीर्ष नेताहरूको सहभागितामा उद्घाटन
काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा भव्य समारोहबीच सुरु भएको छ। महाधिवेशन उद्घाटन समारोहमा कांग्रेस नेतृत्वसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उल्लेख्य उपस्थिति रहेको छ।

उद्घाटन समारोहमा कांग्रेस सभापति गगनकुमार थापासहित नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेताहरू सहभागी भएका छन्।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उद्घाटन कार्यक्रममा उपस्थित भएका छन्। विभिन्न दलका नेताहरूको सहभागिताले कांग्रेस महाधिवेशनलाई राष्ट्रिय राजनीतिको महत्वपूर्ण जमघटका रूपमा प्रस्तुत गरेको छ।

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना गरेको हो। महाधिवेशनमार्फत पार्टीले संगठनलाई थप सुदृढ बनाउनेसँगै आगामी राजनीतिक नीति र कार्यदिशाबारे समेत छलफल गर्ने जनाएको छ।

महाधिवेशनमा अनुमानित पाँच हजार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने कांग्रेसले जनाएको छ। उद्घाटन समारोहपछि सोमबार र मंगलबार बन्दसत्र सञ्चालन हुने कार्यतालिका छ। बन्दसत्रमा पार्टीको नीति, कार्यक्रम, सांगठनिक अवस्था तथा समसामयिक राजनीतिक विषयमा प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि छलफल गरिनेछ।

यसपटकको महाधिवेशन कांग्रेसका लागि नयाँ नेतृत्व चयनका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। निर्वाचन कार्यक्रम असोज २१ र २२ गते तय गरिएको छ। उक्त निर्वाचनबाट सभापतिसहित पार्टीको केन्द्रीय नेतृत्व चयन हुनेछ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसले अवलम्बन गर्ने नीति र आगामी राजनीतिक दिशासमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ। पार्टीभित्र नेतृत्व, संगठन सुधार र आगामी रणनीतिबारे बहस भइरहेका बेला सुरु भएको महाधिवेशनलाई कांग्रेसको भावी राजनीतिक यात्राको आधार तय गर्ने अवसरका रूपमा हेरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार