जनकपुरधाम । कार्तिक १ ।मिथिला–मधेसको धार्मिक आस्था, लोकपरम्परा र सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको झिझिया नृत्यको मौलिक स्वरूप पछिल्लो समय संकटमा पर्दै गएको छ । विजयादशमीको अवसरमा विभिन्न स्थानमा झिझिया नृत्यका कार्यक्रम आयोजना हुन थाले पनि परम्परागत मैथिली लोकगीत र नृत्यको सट्टा भोजपुरी गीतमा आधारित मनोरञ्जनात्मक प्रस्तुतिले प्राथमिकता पाउन थालेपछि यसको सांस्कृतिक महत्त्व ओझेलमा पर्ने चिन्ता बढेको छ ।
दसैँ नजिकिएसँगै जनकपुरधामसहित मिथिलाका विभिन्न गाउँ तथा सहरमा युवा क्लब, समिति र संघसंस्थाले झिझिया नृत्यका कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, मौलिक लोककला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका कतिपय कार्यक्रममा परम्परागत नर्तकीभन्दा आरकेष्ट्रा तथा व्यावसायिक नृत्य टोलीलाई प्राथमिकता दिन थालिएको छ । दर्शक आकर्षित गर्ने नाममा झिझियाको मूल विशेषतालाई बेवास्ता गरिँदा धार्मिक तथा सांस्कृतिक परम्पराको पहिचान कमजोर बन्ने जोखिम देखिएको छ ।
परम्परागत झिझिया नृत्यमा महिलाहरूले अनेकौँ प्वाल भएको माटोको घैँटो टाउकोमा राखेर त्यसमा बलिरहेको दियोको प्रकाशसँगै देवीको स्तुतिमा आधारित मैथिली लोकगीत गाउँदै सामूहिक रूपमा नाच्ने गर्छन् । विशेषगरी मुसहर समुदायका महिलाको सहभागितामा प्रस्तुत हुने यो नृत्य घटस्थापनादेखि विजयादशमीसम्म देवी मन्दिर, शक्तिपीठ र गाउँबस्तीमा देखाइने पुरानो परम्परा हो ।
लोकविश्वासअनुसार झिझिया नृत्य परिवार, सन्तान तथा समुदायलाई नकारात्मक शक्तिबाट जोगाउने कामनासँग सम्बन्धित छ । यसले धार्मिक आस्थाको अभिव्यक्ति दिनुका साथै मैथिली भाषा, लोकगीत, सामूहिक सहभागिता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई समेत जीवन्त राख्दै आएको छ ।
विगतमा महिलाहरूको समूह रातिको समयमा टोलबस्ती र घरघरमा पुगेर झिझिया नाच्ने तथा गीत गाउने गर्थे । माटोको घैँटोमा बलिरहेको दियो, त्यसबाट निस्कने मधुरो प्रकाश र मैथिली गीतको लयले दसैँको वातावरणलाई विशेष बनाउँथ्यो । तर, आधुनिक मनोरञ्जनप्रतिको बढ्दो आकर्षण, नयाँ पुस्ताको बदलिँदो रुचि र लोककलाप्रतिको घट्दो चासोले परम्परागत प्रस्तुतिमा असर पारेको छ ।
झिझियाको संरक्षणका लागि आयोजना गरिने प्रतियोगिता तथा सांस्कृतिक उत्सवले नयाँ पुस्तालाई यस परम्परासँग जोड्ने अवसर प्रदान गर्न सक्छन् । यद्यपि, यस्ता कार्यक्रमको सफलता दर्शकको भीड र सहभागीको संख्याबाट मात्र मापन गर्न नहुने जानकारहरूको तर्क छ ।
कार्यक्रममा मैथिली गीत, परम्परागत वेशभूषा, माटोको घैँटो, सामूहिक नृत्यशैली र देवी स्तुतिलाई प्राथमिकता दिन आवश्यक देखिएको छ । आयोजक, स्थानीय तह र सांस्कृतिक संस्थाले मौलिक प्रस्तुतिलाई प्रोत्साहन गर्न सके झिझियाको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व जोगाउन सकिनेछ । अन्यथा, झिझियाको नाममा कार्यक्रम भइरहने तर त्यसको वास्तविक पहिचान क्रमशः हराउँदै जाने खतरा बढ्नेछ ।




हावाहुरीले पाँच बिघाको उखुबाली ढल्यो, किसानको लगानी जोखिममा
चोलेन्द्र जबरालाई भेट्न रोकिएको घटनामा प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको माग
दु:ख घडीमा करिब साढे ३ करोडको गाडी खरिदका लागि मधेश सरकारको तयारी
सर्लाहीको सदरमुकाम मलंगवा जलमग्न, अविरल वर्षाले जनजीवन प्रभावित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणी